नियम ९
व्यावसायिक भिसा
(१) देहायका विदेशीहरू र तिनका परिवारलाई सम्बन्धित निकायको सिफारिसमा व्यावसायिक भिसा दिइनेछ –
(क) नेपालभित्र व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने ईजाजत प्राप्त विदेशीहरू वा त्यस्ता व्यापारिक वा औद्योगिक संस्थाको अधिकृत प्रतिनिधि ।
(ख) नेपालबाट निकासी व्यापार गर्न लगानी गर्ने इजाजत प्राप्त विदेशीहरू ।
(ग) तेस्रो मुलुकबाट नेपालमा आई नेपालमा उत्पादित मालसामान खरीद गरी निकासी गर्ने वा निकासीको लागि खरीद आदेश दिने विदेशीहरू ।
(२) यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक व्यावसायिक भिसा एक पटकमा बढीमा पाँच वर्षका लागि प्रदान गरिनेछ र आवश्यकता अनुसार यसको म्याद थप गर्न सकिनेछ ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपनियम (१) को खण्ड (ग) बमोजिमको विदेशीलाई एक पटकमा नब्बे दिनसम्म नेपालमा बस्न पाउने गरी पाँच वर्षे बहु प्रवेशी व्यावसायिक भिसा दिइनेछ ।
(२ख) उपनियम (२क) बमोजिम नेपालमा बस्न पाउने गरी दिइएको म्यादभित्र भिसा वाहकले व्यावसायिक काम कारोबार सम्पन्न हुन नसकेको कारण र सम्बद्ध प्रमाण समेत राखी निवेदन दिएमा निजको कार्य दक्षताको आधारमा उपनियम (२क) मा उल्लेख भए बमोजिम नेपालमा बस्न पाउने अवधिसम्मको लागि भिसा नवीकरण गर्न सकिनेछ ।
(३) व्यावसायिक भिसाको लागि अनुसूची २ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।